राजनीति

बागमती प्रदेशमा मुख्यमन्त्री छान्न गठबन्धनलाई सकस (भिडियोसहित)



काठमाडौँ – तीन महिनाको रस्साकस्सी पछि मन्त्रीपरिषद विस्तार गरेको देउवा सरकारले प्रदेशमा पनि नेतृत्व फेरबदलको तयारी गरिरहेको छ । गठबन्धनभित्र प्रदेश एक र वाग्मती प्रदेशमा मुख्यमन्त्री कसलाई बनाउने भन्नमा विवाद भएको छ । वाग्मति प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस र नेकपा एकीकृतसमाजवादीले दाबी गरेपछि विवाद पेचिलो बन्दै गएको छ ।

नागरिकले जनमत सहित पाँच वर्षका लागि स्थायी सरकार चुने पनि राजनीतिक दल र नेताहरुको स्वार्थका कारण मुलुक पुन राजनीतिक संकटबाट गुज्रिरहेको छ । नागरिकको जनमतलाई दलहरुले आफ्नो दलगत र पदिय स्वार्थमा बलि चढाए । तर नेताहरुमा लज्जाबोध पटक्कै भएन बरु थोरै समयकै लागि भए पनि पद बस्न विभिन्न बखेडा झिकेर देशको राजनीति गोलल्न नेताहरु उद्दत देखिन्छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्चको परमादेशलेगठबन्धन भएको सरकार अहिले प्रदेशको नेतृत्व फेरबदलमा केन्द्रित छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य खल्पमतमा परेसँगै विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले यी दुई प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरुको दौडधुप शुरु भएको हो ।
दल विभाजनअघि एकल बहुमतको आधारमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री शाक्यले असोज २४ मा नै विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरिए पनि मत विभाजन प्रक्रिया कात्तिक ४ गतेसम्मका लागि स्थागित गरिएको छ । यसरी म्याद थपिनु संविधान विपरीत भएको गठबन्धनका नेताहरुको तर्क छ ।

शाक्यले विश्वासको मत लिनु अगावै गठबन्धनभित्र मुख्यमन्त्रीलाई लिएर खिचातानी सुरु भएको छ । नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीकाप्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे र कांग्रेसका बागमति संसदीय दलका नेता समेत रहेका इन्द्रबहादुर बानियाँको दावेदारी चर्चामा छ । मन्त्रीपरिषद विस्तारदेखि नै पद वाँडफाडमा हम्मे परिरहेका बेला वाग्मती प्रदेशको मुख्यमन्त्रीमा देउवाको विश्वासिलो पात्र इन्द्र बानिया वा माधव नेपालका विश्वास पात्र राजेन्द्र पाण्डेमध्ये कसले वाग्मती प्रदेशको मुख्यमन्त्री हत्याउछ भन्ने विषय चासोपूर्ण बनेको छ ।

मुख्यमन्त्रीका विषयमा गठबन्धनभित्रका नेताहरुको आ–आफ्नौ दावी छ । कांग्रेस र एकिकृत समाजवादी दुवै दलले मुख्यमन्त्री आफ्नै दलबाट हुने दावी गरेका छन । झन्डै तीन महिनाको रस्साकस्सी बल्लतल्ल मन्त्रीपरिषदलाई पूर्णता दिएका देउवालाई बागमति प्रदेशको मुख्यमन्त्रीको विवाद मिलाउन फलामको चिउरा चपाएसरी हुने निश्चित छ ।