राजनीति

राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन : पूर्वराजा


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन् । देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ । ‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ उनले प्रश्न गरेका छन् ।

कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्ने उल्लेख गरेका छन् । उनी थप्छन्, ‘दुर्भाग्यवस शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ ।’