राजनीति

एमालेमा सर्वेसर्वा बन्दै ओली, अध्यक्षमा उम्मेद्वारी दिने ल्याकत कसैले राखेन (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेले नेतृत्व हेरफेरका लागि आगामी मंसिरमा दशौं महाधिवेशनमा गर्दैछ । ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन् । पार्टी अध्यक्षमा कुनै नेताले दाबी प्रस्तुत गर्न नसके पनिअन्य पदाधिकारी पदका लागि भने आफ्नो स्थान सुरक्षित गर्न एमाले नेताहरुबीच दौडधुप सुरु भएको छ ।

नेकपा एमालमा पहिलोपटक अभ्यास गरिएको विधान महाधिवेशनको व्यवस्था अनुसार ७० बर्षे उमेरहद कायम गरिए पनि ७० वर्ष पुरा नहुँदै उम्मेदवार भएर निर्वाचित व्यक्तिले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ । यसको प्रत्यक्ष फाइदा अध्यक्ष केपी ओलीलाई भएको छ । अर्थात ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन । एमालेको विभाजनले ओलीलाई विना कुनै कसरत निर्विकल्प नेतृत्व बन्न प्रत्यक्ष सहयोग पुग्यो । एमाले नेताहरुले ओलीलाई नै पुन पार्टी सुम्पिने निश्चित छ । आफ्नो पदको टुङगो नभए पनि महासचिव ईश्वर पोखरेलले अध्यक्षमाओली नै दोहोरिने स्पष्ट पारे । यस अघि अध्यक्षको दावेदारी गरीरहेका पोखरेलले आफ्नो अध्यक्ष बन्ने इच्छा ओलीसँग आत्मसमर्पण गरे ।

एमालेमा कायम उमेर हदवन्दीले दोस्रो तहका नेताहरु प्रत्यक्ष संकटमा परेका छन् । तर सबै ओलीकै जयजयकार गरिरहेका छन् । ओलीको देवत्वकरण गर्ने नेताहरु अहिले अध्यक्ष बाहेक अन्य बाँकी रहेका अन्य १४ पदाधिकारीमा भने दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
उमेर हदकै कारण आगामी महाधिवेशनपछि तेस्रो पुस्ताका विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भूसाल,योगेश भट्टराई र प्रदीप ज्ञवाली लगायतका नेता हाबी हुने छन् । अहिले ओलीलाई देवता मान्नेहरुको ठुलो झुण्ड मात्र एमालेमा वाँकी रहेकोले महाधिवेसन सहजपूर्ण ढंगले अगाडि बढ्ने देखिन्छ । एमालेभित्र वैचारिक छलफल भन्दा पनि ओलीको देवत्वकरण नै हावी हुने हुँदा अन्य विकल्प नभएको कतिपयको तर्क छ ।

एमालेको महाधिवेशनको रिहर्सल विधान महाधिवेशनबाट पनि आँकलन गर्न सकिन्छ ।नेतृत्व हेरफेरका लागि महाधिवेसन भए पनि ओलीले अन्य पदमा पनि हस्तक्षेप गर्दै ‘एसम्यान’ लाई पदमा पुर्याउन सक्छन् । त्यसकारण एमालेभित्रको राजनीतिक परिवेशले एमालेको महाधिवेशन औपचारिकताका लागि मात्र हुने निश्चित छ । साथै महाधिवेशनपछि एमालेभित्र ओलीवाद अझ विस्तार हुने पक्का छ ।