काठमाडौँ – नेपालीहरुको महान चाड दशै सुरु भईसकेको छ । वर्ष दिनको चाडवाड मनाउन देश विदेशबाट आ–आफ्नो जन्मथलो फर्किने क्रम जारी छ । अर्कोतर्फ आफ्नो रोजीरोटीको जोह गर्नकै लागि सात समुन्द्रपारी जानेको लाईन पनि लामै छ । चाडवाडको मुखैमा सयौं यवाहरु घर छोडेर परदेश लागिरहेका छन् ।
आफ्न ठुलाबढा, प्रियजनबाट आर्शिवाद लिँदैपारिवारिक जमघट,हर्ष र खुशी साटासाट गर्ने नेपालीहरुको राष्ट्रिय चाड दशै सुरु भईसेकेको छ । दशै मनाउनकै लागि आफ्नो कर्मथलोलाई विट मार्दै त कतिपय चाडवाडकै लागि भए पनि विदा लिएर जन्मथलो फर्किरहेका छन ।
तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको यो दृश्यमा देखिएका लाइन भने चाडवाडको रमाईलो,पारिवारिक जमघट सबैलाई केहि वर्षका लागि थाति राखेर मन कशिलो बनाउँदै रोजगारीका लागि विदेश जाने युवाहरुको हो ।
गोरखाका २७ वर्षिय रमेश तामाङ दुई वर्षका लागि साउदी जाँदै छन । उनीसँगै होटलमा काम गर्न २२ जनाको टोली साउदी जाँदै छन । तामाङलाई चाडवाडका बेला परिवारसँग टाढा हुनुपरेको पिडा त छँदैछ त्यो भन्दा पनि आफ्नो दुई वर्षिय छोरीको मायाले अहिलेदेखि नै सताउन थालेको छ । प्यूठानका टिका पुन मगर कतार जाँदै छन । यस अघि दुवई बसेर आएका उनी दुवईबाट कमाएर ल्याएको पैसाले नेपालमा नै केहि गर्ने उदेश्य सहित बाख्रापालन व्यवसायमा लागे तर खासै उपलब्धि नहुने देखिएपछि पुन विदेश नै रोजेका छन । देशमा भनेजस्तो रोजगारी पाउनै मुस्किल छ । आफ्नो छोराछोरीको उज्जवल भविष्यका लागि भए पनि बाध्य भएर विदेश रोजेको बताउँछन ।
उनीहरुत उदाहरण मात्र हुन् चाडवाडको खुशीलाई थाती राखेर आफ्नो परिवारको खूशी खोज्न विदेश लाग्नेहरुको लर्को लामो छ । देशमा रोजगारी अभावकै कारण आफूहरु विदेश रोजेको युवाहरु बताउँछन । यो दशैमा परदेशीए पनि आउने देशैहरुसँगै मनाउने आशा बोकेर उनीहरु सात समुन्द्र पारी परदेश लागेका छन । लामो राजनीतिक संक्रमणकाल अन्त्य गर्दै मुलुकले नयाँ राज्य संरचना स्थापना गर्न सफल भयो । तर हातमुख जोड्नकै लागि पसिना बगाउन परदेशी भूमिमा पुग्नु पर्ने बाध्यता चाहीँ झन बढेर गएको छ ।
प्रतिक्रिया