देश

बडादशैंको पाँचौ दिन यसरी गरियो स्कन्दमाताको पूजाआजा (भिडियोसहित)


काठमाडौँ – बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइएको छ । दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नवरात्र सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

त्यस्तै चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ भने पाँचौं दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको छ । स्कन्दमाता यस्ती दैवी शक्ति हुन्, जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ। यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन्। यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास रहेको पाइन्छ ।