राजनीति

राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक विहिन भयो : कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताउनुभयो । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको बताउनुभयो । उहाँले नेपालमा हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्ति हाबी भइरहेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताउनुभयो । अध्यक्ष लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।