राजनीति

सभापति देउवाले आफ्नै निर्णय पटक–पटक फिर्ता लिएर तमासा देखाए : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको लोभमा परेर प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लोभमा परेर पार्टी तहसनहस पारेको बताउनुभयो ।

पौडेलले भन्नुभयो, “सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ” । आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको पनि उहाँले बताउनुभयो । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिया हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उहाँको भनाइ थियो ।

उहाँले आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताउनुभयो । वर्तमान नेतृत्वले कांग्रेसलाई विचलित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ धकेल्ने प्रयास गरेको बताउँदै उहाँले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताउनुभयो ।