समाचार

मान्छेको ज्यान लिने डोरी करोडमा बिक्छ भनेपछि महिलाको हत्या…

अन्धविश्वासले निम्त्याएको अपराध


काठमाडौँ – हत्या वा आत्महत्यामा प्रयोग गरिएको डोरी करोडौँमा विक्री हुन्छ भन्ने अन्धविश्वासमा परि मानिसनको ज्यानै लिएका ३ जना प्रहरीको पञ्जामा परेका छन् । डोरी विक्रीका लागि भन्दै ललितपुरमा महिलाको हत्या गरेर फरार ३ जनालाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको हो ।

हत्या वा आत्महत्यामा प्रयोग गरिएको डोरी करोडौँमा विक्री हुन्छ भन्ने भ्रममा परेर तीन जना व्यक्तिले ललितपुरमा एक जना महिलाको ज्यानै लिए । ती तीन जना महामूर्खहरुलाई प्रहरीले व्यापक खोजी अनुसन्धान गरी सार्वजनिक गरेका छन् । घटना गत भदौ २५ गतेको थियो । ललितपुर महानगरपालिका सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको हत्या । कमलाको हत्या मजदुरी गर्दा चिनजान भएका यीनै २० वर्षीय सुमन मगर र सुमनका साथी २३ वर्षिय सविन प्रजा र उनका श्रीमति १८ वर्षिय प्रविना प्रजा माझीले गरेको प्रहरीले जनाएको छ ।

हत्याको एउटै कारण थियो, हत्या वा आत्महत्या गर्दा प्रयोग गरिएको डोरी करोडौँमा विक्री हुन्छ र त्यो बेच्न पाए रातारात करोडौँको मालिक हुन पाइन्थयो । उनीहरुले यो पनि सुनेका थिए की हत्या गर्दा प्रयोग भएको डोरी ऐनामा देखाउँदा पनि देखिदैन । त्यसपछि यी तीन जना मिलेर इनारमा प्रयोग हुने डोरी लिएर कमलाको हत्या गर्न घरमै गए । हत्या पनि गरे । हत्यामा प्रयोग गरेको डोरी लिएर खुसी हुँदै घर गए । सुनेको कुरा जाँच गर्न ऐनामा डोरी देखाए । देखिँदैन भनिएको डोरी ऐनामा स्वभाविक रुपमा देखिएपछि उनीहरु छाँगाबाट खसेजस्तै भए । त्यसपछि हत्या आरोपमा पक्राउ परिएला भन्ने डरले ललितपुरबाट मकावनपर भागे ।

सविन प्रजाले कसैको मुखबाट मान्छे झुण्डिएको वा मारेको डोरी करोडमा बिक्ने सुनेपछि सविनले सो कुरा सुमन मगरलाई बताएका थिए । हरिसिद्धिमा डेरामा बस्ने उनीहरुको टार्गेटमा नुवाकोट बेलकोट गढी नगरपालिका–९ स्थायी घर भई हाल ललितपुर सुनाकोठीमा एक्लै बस्दै आएकी कमला परेकी थिइन् । प्रविधिका कारण बढ्दो अपराधिक घटनाहरु मात्र नभई यस्ता सामाजिक रुढिवादी सोँचका कारण हुने घटनाहरुले पनि हाम्रो समाजको चेतना स्तर झल्काउँदछ ।

प्रहरीसंगको बयानका क्रममा उनीहरुले ऐनामा डोरी देखिएपछि त्यो डोरीलाई घर नजिककैको कुलोमा बगाइदिएका थिए । हत्या गरिएकी कमलाको साथबाट लगेको मोबाइल र गहनासमेत नक्कली भएको पत्ता लागेपछि कुलोमा बगाइदिएको प्रहरीलाई बयान दिएका छन् । यो हदसम्मको महामुख्र्याइँ अपराध कर्म गर्ने नेपाली मनोदशाको राम्रो उपचार हुन जरुरी देखिएको छ ।