राजनीति

आखिर लेखा समितिमा एमालेलाई किन चाहियो भाग ? के सभापति भरत शाहले राजीनामा गर्लान ? (भिडियोसहित)


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा अहिले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले भूमिका निर्वाह गरिरहेको छ । संसदीय परम्परा अनुसार अब भने आफूहरुले सभापति पाउनुपर्ने प्रमुख प्रतिपक्षले माग गरेको हो ।

भरतकुमार शाहले नेतृत्व गरिरहेका छन् । आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै नेकपा एमालेका सांसदहरुले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने दाबी गरेका हुन् । बैठकमा सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस ्भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे ।

एमालेको भनाईप्रति ऐक्यवद्धता जनाउँदै अन्य सांसदहरुले पनि संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे । उनीहरुले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने दाबी गरेका थिए ।

यता, सभापति भरतकुमार शाहले भने यसबारे कुनै प्रतिक्रिया दिनै चाहेनन् । उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिए । सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राखेका थिए । सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास लिएका छन् । समितिका सभापतिले बैठकमा सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेलाई सुझाव दिएका छन् । यस्ता विषयहरु कुरा उठाउन विपक्षको धर्म भएको सभापतिको टिप्पणी थियो ।