राजनीति

‘प्रधानन्यायाधीशलाई पदमा बस्ने हक छैन’, राजीनामा दिनुपर्छ’ (भिडियोसहित)


काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै चर्काे विरोध भएपछि हमालले राजीनामा दिएका हुन् । तर यतिबेला प्रधानन्यायाधीशकै राजीनामा माग गर्न थालिएको छ ।

पद तथा गोपनीयताको सपथ लिएको ४० घण्टा वित्न नपाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कोटाबाट हमाललाई मन्त्री बनाएपछि चौतर्फी विरोध भएको थियो ।

हमालले आफुमाथि प्रश्न उठेको भन्दै आइतबार राजीनामा दिएका हुन् । तर प्रश्न प्रधानन्यायाधीशमाथि उठेको छ । न्यायपालिकाले कार्यपालिकासंग भागबण्डा गरेको भन्दै कानुन क्षेत्रकै जानकारहरुले यसको विरोध गरेका छन् । प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जबराले मन्त्रिपरिषद्मा भाग खोजेको विषय शासन व्यवस्थामा कसैगरी साधारण र स्वीकार्य कुरा नभएकाले पदमा बस्न नहुने दाबी गरेका छन् ।

व्यक्ति विशेषका रूपमा गजेन्द्र हमाल मन्त्री बन्नु कुनै ठूलो मामिला होइन, तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाउनु गलत भएको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका हुन् । कार्यपालिकासंग भाग खोजेर बस्न प्रधानन्यायाधीशलाई छुट नभएको भन्दै राजीनामा नै अन्तिम विकल्प भएको उनीहरु बताउँछन् ।

एक त, साधारण अवस्थामा गैरसांसदलाई मन्त्री बनाउन पाइँदैन, छ महिनाभित्र संघीय सांसद बनाउने गरी मन्त्री बनाइन पाइने व्यवस्था विशेष व्यक्तिका लागि विशेष परिस्थितिका निम्ति मात्र हो । तर हमालको हकमा त उनी गैरसांसद हुन् न त कुनै दलको ठुलै नेता ।

प्रधानन्यायाधीशको जेठान भएकै आधारमा मन्त्री बनाएपछि चौतर्फि विरोध हो । जसको भार थेक्न नसकेर हमालले ४० घण्टाभित्रै राजीनामा दिएका हुन् । तर कार्यपालिकामा न्यायपालिकाको अवाञ्छित शक्तिको–गन्ध महसुस भएको भन्दै प्रधानन्यायाधीश जबराकै राजीनामा माग गरिएको हो ।