समाचार

रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश


काठमाडौँ — माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

पक्राउपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौँमाथि यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाऊ आदेश जारी गरेको हो ।