राजनीति

किन बोलाए अध्यक्ष नेपालले नवनियुक्त मन्त्रीलाई ?


काठमाडौँ – नेकपा ९एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूरालाई अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय बानेश्वरमा बोलाएका छन् । पार्टी अध्यक्ष नेपालले आइतबार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरुलाई बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिएका हुन् ।

मन्त्रीहरुलाई जनताको भावनाको कदर गर्दै जनअपेक्षित काम गरेर देखाउन भन्दै नेपालले बोलाएको खतिवडाले बताएका छन् । उनका अनुसार जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको हो । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।

शनिबार काभ्रेपलाञ्चोकमा पार्टी कार्यालयको उद्घाटनका क्रममा बोल्दै नेपालले गलत काम गरेको खण्डमा मन्त्रीबाट हटाइने बताइसकेका छन् । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठ गरी चार मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङको सहभागिता रहेको छ ।