काठमाडौँ –कोरोना संक्रमण रोकथामका लागि बिगत डेढ वर्षदेखि बन्द रहेको सर्लाहीका सबै सिमा नाकाहरु आजदेखि पूर्णरुपमा संचालनमा आएका छन् । चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि दुवैतर्फका स्थानीयबासिन्दा उत्साहित बनेका छन् ।
भारतिय पक्षले लगाएको बेरियर(ढाट) शुक्रवार साँझ ६ बजेबाट खुला भएपछि सदरमुकाम मलंगवा तथा भारतीय बजार सोनवर्षा नाकामा निजी सवारीसाधनहरु संचालनमा आएका छन् । केही दिन अघि नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि भारतिय सिमा सुरक्षाकर्मी एस.एस.बीको अवरोधका कारण सबै नाका खुल्न सकेका थिएनन् । अहिले भने बन्द रहेको सर्लाहीका सीमानाका पूर्ण रुपमा खुला भए पछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न थालेका छन् । जसले सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकलाई सहज मात्रै भएको छैन यसअघि चोरबाटो भएर पैदलयात्रा गर्नु पर्ने बाध्यता पनि हटेको छ ।
त्यसोत सिमावर्ती क्षेत्रका नेपाली बासिन्दाहरु कुनै पनि सामान किनमेलका लागि छिमेकी देश भारत जाने गरेका छन् । दैनिक उपभोग्य वस्तुहरु चिनी, खाने तेल, मरमसला, लत्ताकपडा लगायतका सामग्रीहरु किन्न भारतिय बजार नै पुग्ने प्रवृत्तिले नेपालतर्फका सीमावर्ती बजारमा ठूलो असर पर्ने गरेको छ । त्यही सामाग्री नेपालको बजारमा धेरै पैसा तिरेर महंगोमा किन्नु पर्ने बाध्यता रहेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । भारतिय बजारमा सस्तोमा उपभोग्य वस्तु पाइन्छ भन्ने विश्वासले नेपाली उपभोक्ताहरु सीमावर्ती भारतीय बजारमा किनमेलका लागि आकर्षित हुने गरेका छन् । जे भएपनि दुवै तर्फ लगाइएको बेरियर खुलेर आवजजावतमा सहज भएपछि स्थानीय खुशी भएका छन् ।
यता ९० प्रतिशत ग्राहक नेपालीहरु नै रहेकाले सिमानाका बन्दका कारण विगत डेढ वर्षदेखि आफुहरुको व्यापार चौपट बनेको भारती व्यापारी बताउँछन् । अब भने चाडवाडको बेलामा आएर सिमानाकामा निर्वाध रुपमा आवतजावत सुरु भएपछि व्यापार व्यवसाय बढ्ने भन्दै व्यापारी खुशी बनेका छन् । भारतले पनि नाका खुला गरिसकेकोले भारतीय सवारी साधनहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य मामदण्ड पूरा गरि आएको खण्डमा नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने छन् ।
सर्लाहीका अधिकांश नागरिक सीमावर्ती बजारमा निर्भर रहँदै आएका छन् । चाडपर्वको बेला सिमानाका पूर्णरुपमा खुल्ला भएसँगै सर्वसाधारण लगायत ब्यापारीमा भने खुशियाली छाएको छ ।
प्रतिक्रिया