राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटरमा कांग्रेसको ‘डेलिगेसन’


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेताहरु मुख्यमन्त्री फेर्न माग गर्दै काठमाडौँ आइपुगेका छन् । सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनु पर्ने माग राख्दै संसदीय दलका नेता रणबहादुर रावलको टोली शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका हुन् ।

प्रदेश १ र बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनी एकीकृत समाजवादीको समर्थनमा ३० मत पाएर मुख्यमन्त्री बनेका थिए । विश्वासको मत लिँदा भट्टलाई मतदान नगरी कांग्रेस तटस्थ बसेको थियो ।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो । तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन् ।

सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३, कांग्रेसका १२, प्रतिपक्षी दल एमालेको १० र साना दलका २ गरी ५२ सांसद रहेका छन् ।