खेलकुद

ईपीएलमा पहिलो पटक फाइनल खेल्दै चितवन र पोखरा


काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल प्रतिष्पर्धा आज हुँदैछ । फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ बजे हुनेछ ।

दुवै टोली ईपीएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक ईपीएल फाइनल खेल्न लागेका हुन् । दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो । पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताएका छन् ।

यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायरमा चितवनले समान ९ विकेटको जित निकालेको थियो । चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा दुई हारको बदला लिन चाहन्छ । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।