काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । आज नै दलहरुबीचको भागबण्डा टुङ्ग्याएर सत्ता गठबन्धनले सरकारलाई पूर्णता दिएको हो ।
सरकार गठन भएको ८८ दिन पछि १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकारले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । तीन महिना पुग्न दुईदिन बाँकी रहेका बेला भएको मन्त्रिपरिषद् विस्तारको चर्चा गरौं एक गैरसांसदको सत्तारोहणबाट । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सांसदसमेत नरहेका गजेन्द्रबहादुर हमाललाई दिएका छन् । हमाल प्रधानन्याधीश र प्रधानमन्त्रीको सेटिङमा मन्त्री बन्न सफल भएका हुन् ।
संविधानको मूल मर्मविपरीत देउवाले प्रधानन्यायाधीश चोलेन्द्र जबराका जेठान हमाललाई मन्त्री बनाएका हुन् । काँग्रेसको तर्फबाट यसअघि कानुनमन्त्रीको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारको जिम्मेवारी दिईएको छ । कानुन मन्त्रालयको जिम्मेवारी भने काँग्रेसकै अर्का नेता दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । काँग्रेसकै रामचन्द्र पौडेल पक्षको कोटाबाट डा. मिनेन्द्र रिजाल रक्षामन्त्री बनेका छन् । उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका देउवाले कृष्णप्रसाद सिटौला समुहको तर्फबाट उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाएका छन् ।
काँग्रेसकै कोटाबाट यसअघि स्वास्थ्य राज्यमन्त्री बनेका उमेश श्रेष्ठलाई भने देउवाले विना विभागिय राज्यमन्त्रीका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तानेका छन् । त्यस्तै जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादवलाई वन तथा वातावरणर महिन्द्र राय यादवलाई कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त गरिएको छ ।
जसपाको कोटाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेकि छन् । यस्तै, नेकपा एकिकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य मन्त्री, रामकुमार झाँक्री शहरी विकास, प्रेम आले संस्कृति पर्यटन र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री बनेका छन् । नेकपा एसको कोटाबाट भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।
सत्ता गठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षामन्त्री, शशि श्रेष्ठलाई भूमि व्यवस्था, महेश्वर गहतराजलाई युवा तथा खेलकुद र बोधमाया यादवलाई शिक्षा राज्यमन्त्री बनाईएको छ ।माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसालले जिम्मेवारी सम्हाल्दै आएका थिए । सरकारले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो । तर मन्त्रिपरिषद् भित्रका अनुहार हेर्दा आश गर्ने ठाउँ कम रहेको विश्लेषकको भनाई छ ।
असार २९ गते प्रधानमन्त्रीका रुपमा सपथ खाएका प्रधानमन्त्री देउवाले माओवादीसहित काँग्रेसका दुई मन्त्री नियुक्त गरेका थिए । बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्रीको जिम्मेवारी दिईएको थियो । तर कार्कीको जिम्मेवारी हेरफेर अहिले सञ्चारमा सारिएको छ । त्यो बाहेक यसअघि नै सरकारले परराष्ट्रमन्त्रीका रुपमा डा. नारायण खड्कालाई नियुक्त गरेको थियो । अनेकौं दबाव र प्रभावका बीच सरकारले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो ।
प्रतिक्रिया