काठमाडौँ – दोलखाका प्रकाश कार्की निर्माण व्यवसायी हुन् । काठमाडौँको कोटेश्वरमा उनको त्रिनेत्र साकार कन्स्ट्रक्सन प्रालि छ । उनीसँग राष्ट्रिय गौरवको आयोजनाको काम गरेको देखि सैनिक संगठनभित्रको ठेक्कापट्टाको काम गरेको अनुभव छ ।
योबीचमा उनले ठेक्कापट्टाबाट राम्रै आम्दानी पनि नगरेका होइनन् । उनले चल अचल गरेर करोडौँको सम्पत्ति जोडे । कार्की पछिल्लो समय रौतहटमा निर्माण भइरहेको रेलको ट्रयाक बेड (स्टेसन) निर्माणको काम गर्दै थिए ।
सोही कामका लागि उनले परिचित साथी विदुर शर्मासँग ४ करोड ८३ लाख रुपैयाँ सापट लिए । दोलखाका शर्मा भक्तपुर ठिमी नगरपालिका– ३, गट्ठाघर बस्छन् । ४६ वर्षीय शर्मा पनि निर्माण व्यवसायी नै भएका कारण उनीहरूको लेनदेन विश्वासको भरमा चल्दै आएको थियो ।
ब्याज चलनचल्तीभन्दा बढी दिने मौखिक सहमति बनेको थियो । कार्कीले ०७६ को विभिन्न मितिमा ४ करोड रुपैयाँ ऋण लिएपछि शर्मालाई हस्ताक्षर गरेर खाली चेक दिएका थिए । कार्कीले रकम फिर्ता दिएपछि उक्त चेक शर्माले फिर्ता दिनुपर्ने सर्त थियो ।
त्यसपछि यो विवाद महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेको छ । शर्मा र कार्की दुवैले एकअर्काविरुद्ध उजुरी दिएका छन्, प्रहरीकोमा ।
कार्कीले दिएको उजुरीअनुसार शर्माले तोकेको भाकाभित्रै कार्कीले ऋण तिर्न सकेनन् । आफूले गरेको कामको भुक्तानी रेल कम्पनीले नदिँदा ऋण तिर्न नसकेको कार्कीको जिकिर छ । त्यसपछि शर्मा र कार्कीबीचको सम्बन्धमा फाटो सुरू भयो ।
२ वैशाख २०७७ मा शर्माले कार्कीलाई दिएको रकममध्ये पहिलोचोटि ५३ लाख ८५ हजार रुपैयाँ फिर्ता पाएको कागजातबाट देखिन्छ । उक्त रकम कार्कीले शर्माको प्रदेश निर्माण सेवा प्रालिका नाममा रहेको गरिमा विकास बैंकबाट पठाएको देखिन्छ । शर्मा प्रदेश निर्माण सेवा प्रालिका सञ्चालक हुन् ।
त्यसको ११ महिनापछि ३१ चैत २०७७ मा कार्कीको खाताबाट फेरि शर्माको प्रदेश निर्माण सेवामा ३ करोड ८८ लाख रुपैयाँ जम्मा भएको बैंकिङ कारोबारका कागजातबाट देखिन्छ । त्यसको केही समयमै फेरि शर्मालाई कार्कीले ३ करोड ८३ लाख तिरे ।
यसबाहेक सुरेन्द्र उप्रेतीको खातामा कार्कीले ३१ चैत ०७७ मै १ करोड ९५ लाख ६९ हजार र सोही मितिमा सन्तोष श्रेष्ठको खातामा समेत २ करोड २८ लाख २६ हजार ५ सय जम्मा गरे, कार्कीले । उप्रेती शर्माका साथी हुन् ।
कार्कीले शर्मालाई कुल १२ करोड ४६ लाख ८५ रुपैयाँ दिएको कागजातबाट खुल्छ । कार्कीका अनुसार त्यो आफूले लिएको ४ करोड ८३ लाख रुपैयाँ ब्याजबराबरको रकम हो ।
कार्कीले ४ करोड ८३ लाख रुपैयाँ लिँदा शर्मालाई दिएको खाली चेकमा शर्मा आफैँले रकम भरेर फेरि बैंकबाट बाउन्स गराएर आफूलाई फसाउन खोजेको कार्कीले बताए । शर्माले १० करोड रुपैयाँको चेक काटेका थिए ।
शर्माले काठमाडौं प्रहरी परिसरमा कार्कीले १० करोड रुपैयाँको बैंकमा मौज्दात नभएको चेक दिएको भन्दै उजुरी नै हालेका छन् ।
त्योबाहेक शर्माले कार्कीलाई अपहरण शैलीमा काठमाडौंबाट रुपन्देहीको देवदह लगेर सासू कुमारी महराको नाममा रहेको करिब २ करोड रुपैयाँबराबरको कित्ता नम्बर ८२४ को ४ कट्ठा जमिनसमेत पास गर्न लगाएको कार्की बताउँछन् ।
‘मैले पहिलादेखिकै साथी भनेर व्यवहार मिलाउन शर्माबाट रकम लिएको हो । तर, उनको आपराधिक सोच रहेछ । म अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेको छु,’ कार्कीले दुस्खेसो पोखे । ४ करोडको १२ करोड तिरिसक्दा पनि शर्माले अझै तिर्न बाँकी छ भन्दै जीवनभर जेलमा सडाउने धम्की दिएको कार्कीले बताए ।
शर्माबाट कार्की पीडित भएपछि कार्कीको अन्यसँगको व्यवहारसमेत डुबेको छ । कार्कीले अहिले भने शर्माले आफूलाई पीडित बनाएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका छन् ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दुवै जनाको प्रहरीमा उजुरी आएको र दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भएको बताए ।
यसअघि डोल्पाका एक निर्माण व्यवसायी दीपेन्द्र शाहीले समेत २ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा मिटरब्याजी गणेश उप्रेतीले जबर्जस्ती १४ करोड असुल्न खोजेको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेर मुद्दा नै चलाएको थियो । एक प्रहरीका अनुसार शर्मा र उप्रेती एउटै समूहका मिटरब्याजी हुन् ।
शर्माले निर्माण सेवाको नाममा कैयौँलाई पीडित बनाएको कार्कीको आरोप छ । शर्माको एमालेका केही नेतासँग निकटता छ । त्यसैको आडमा उनले मिटर ब्याजको धन्दा चलाउने गरेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया