राजनीति

मन्त्री छनौटको विषयमा जसपाबीच विवाद


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री छान्ने विषयलाई लिएर विवाद देखिएको छ। अध्यक्ष उपेन्द्र यादवले आफू पक्षधरलाई मन्त्री बनाउन खोजेपछि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले आपत्ति जनाएसँगै जसपामा विवाद सुरु भएको हो ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई कार्यकारिणी समितिको बुधबारको बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न जिम्मा दिएको थियो। तर, यादवले सबै आफ्नोलाई च्याप्न खोजिपछि जे मन लाग्छ गर्नुस् भन्दै भट्टराई र राईले यादवसँग असन्तुष्टि पोखेको ती नेताले बताए ।

शीर्ष नेताहरुको बिहीबारको बैठकमा जुटेको ’सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ।

बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्।