राजनीति

एकीकृत समाजवादीबाट झाँक्री स्वास्थ्य मन्त्री बन्दा,आले पर्यटन मन्त्रीमा


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी(ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।

सत्तारुढ गठबन्धनको सहमति भएपछि एकीकृत समाजवादीको भागमा पर्यटन तथा नागरिक उड्डयन,श्रम रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालय परेको थियो । सहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा करिब तीन महिना मुलुक हाँकेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।