राजनीति

बेलायतले नेपाललाई रातो सूचीबाट हटायो


काठमाडौँ – बेलायतले नेपाललाई अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको रातो सूचीबाट हटाएको छ । बेलायत सरकारले गरेको यो निर्णय ११ अक्टोबर आउँदो सोमबारबाट लागू हुने छ ।

बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । यसअघि रातो सूचीमा रहेका राष्ट्रहरुले आफ्नो खर्चमा ११ दिनसम्म अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने थियो ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् । तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् ।