देश

ठूला चाडपर्व सुरु भएसँगै मंहगीले उपभोक्ताको ढाड सेक्यो, सरकारको अनुगमन शुन्य (भिडियोसहित)


काठमाडौँ – ठूला चाडपर्व सुरु भएसँगै मंहगीले उपभोक्ताको ढाड सेकिन थालेको छ । अझ कैलाली जिल्लामा त मंहगीको मार मात्रै होइन बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य मात्रामा विक्रि वितरण हुँदासमेत अनुगमन हुन सकेको छैन ।

नेपालीहरुको महान चाड बडादशै सुरु भईसकेको छ । चाडपर्वको मौका छोपी व्यापारीले भने उपभोत्ताको ढाड सेक्न थालेका छन् । कैलाली जिल्लामा त सरोकारवालाले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मंहगीको मारमा मात्रै परेका छैनन् बजारमा गैरकानूनी रूपमा खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्रिवितरण हुने गरेको छ । बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसक्दा आम उपभोक्ता मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन भएको छैन् ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीले दशैँ, तिहार र छठ जस्ता महान चाडहरुमा खपत र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताएको छ । प्रशासनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको दाबी गर्छ ।

उपभोक्ता हीत संरक्षण शाखा धनगढी उपमहानगरपालिकाले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताएको छ । उपमहानगरपालिकाले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरेर अव्यवस्थित पसलहरुलाई व्यवस्थापन गरेको दाबी गर्दछ ।

कैलाली प्रशासनले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताएको छ । यसभन्दा अघि हप्तामा तीन÷चार पटकमात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताएको छ । भारतबाट नेपाल भित्रिने नाका भएकोे र कोरोनाको जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गर्न पनि प्रशासनले सुझाएको छ ।

तर स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य संघलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको उपभोक्ताहरुको गुनासो छ । धनगढी बजार क्षेत्रमा खाद्यन्नमा अखाद्य वस्तु मिसावट हुने गरेको, दालमा ढुंगा, तिलमा कनिकालाई रंगाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थमा अत्यधिक मिसावट पाइने गरे पनि सम्बन्धित पक्षले चासो नदिएको स्थानीयको गुनासो छ ।