राजनीति

काँग्रेसमा सिद्धान्त अनुसार आचरण गर्ने नेतृत्वको अभाव, सुकिला–मुकिला हाबी (भिडियोसहित)

१४ औं महाधिवेशनले सुधार्ला काँग्रेसलाई ?


काठमाडौँ – इमान्दार नेता कार्यकर्ता पछि पर्ने तथाठेक्का, पट्टा र व्यवसायीक पृष्ठभूमिका मानिसहरु नेतृत्वमाथि हाबी रोग नेपालका राजनीतिक दलहरुमा व्याप्त छ । नेपाली काँग्रेस पनि यो रोगबाट मुक्त छैन । कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व नै काँग्रेसमा खड्किएको छ ।

नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाले भनेजस्तै पछिल्लो समय पार्टीमा सुकिला मुकिलाहरु हाबी हुँदा इमान्दार कार्यकर्ताहरु पाखा लागिरहेका छन् । बिपीको दूरदर्शिताका बारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले त्यो बेला बताएको कुराहरु सम्झँदै सुकिला–मुकिलाले काँग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरु पछि पर्ने विषय अहिले व्यवहारत देखिएको बताए ।

काँग्रेसमा अहिले देखिएको राजनीतिक अवस्थालाई नियाल्दा बिपीले त्यो बेलामा भनेका कुराहरु लागू भएको कायस्थ बताउछन् । प्रजातन्त्रको रक्षाका लागि इमान्दार कार्यकर्ताहरुले सुकिला–मुकिलाहरुको विरुद्धमा आन्दोलनको झण्डा उठाएपछि मात्रै पार्टीका लागि आफ्नो जीवन सुम्पिएकाहरुले पार्टीमा स्थान पाउने कुरा बिपीले त्यही बेलामा गरेको कुरा कायस्थले यसरी सुनाए ।

नेपाली काँग्रेसका पूर्व सांसद लेखनाथ न्यौपाने पनि पार्टीको अहिलेको अवस्था त्यो बिपीको वचनभन्दा फरक नभएको बताउछन् । अहिले नेपाली काँग्रेसका नेतृत्व तहका नेताहरुले नै आफ्नो नैतिकता बेचिरहेको उनको बुझाइ छ । काँग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भएपनि इमान्दारितापूर्वक काम नगरेको गुनासो पोख्दै उनले अहिलेका नेतामा तैँले भन्दा धेरै पैसा मैले खर्च गर्नसक्छु भन्ने घमण्ड पलाएको बताउछन् ।

यति बेला काँग्रेस दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ । स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरुले सुकिला मुकिलाबाट अपमानीत महशुस भइरहेको बताइरहेका छन् ।

काँग्रेसमा अहिले पार्टीमा माफियाहरुले कब्जा गरेको भन्दै राजनीतिक विश्लेषक डा. विनोद भट्टराईले यसरी नेपाली काँग्रेसका संस्थापक नेता बिपी र उनको नेतृत्वमा स्थापना भएको नेपाली काँग्रेस गरिमा घटाउने काम भएको चर्चा गर्छन् । के नेपाली काँग्रेसको १४ औं महाधिवेशनले बिपीले भने जस्तै पार्टीलाई सुकिला मुकिलाको प्रभावबाट मुक्त बनाउन सक्ला ? त्यो हेर्न भने महाधिवेशनको परिणामसम्म कुर्नै पर्ने हुन्छ ।