काठमाडौँ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । यता सर्वसाधारण भने व्यवसायीको पक्षमा लागेर सरकारले भाडा बढाएको भन्दै आक्रोशित बनेका छन् ।
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको भाडामा बृद्धि गरिएकोे छ । सरकारले दशैको मुखमा नै कात्तिक १ गतेदेखि लागु हुने गरी भाडा बृद्धि गर्ने निर्णय गरेको हो । यससँगै अब काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्ने भएको छ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।उपत्यका बाहेकका क्षेत्रमा साबिकको भाडादरमा २३ प्रतिशत बृद्धि गरिएको छ ।
यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सामान लैजान पाउने मन्त्रालयले जनाएको छ । यता सवारी चालकहरु पनि सरकारले भाडा बृद्धि गरेकोमा उत्साहित छन् । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेपनि सार्वजनिक सवारी साधानको भाडा बृद्धि नहुदाँ तेलको पैसा उठाउन गाह्रो भएको अवस्थामा सरकारले भाडा बढाउदा आफुहरुलाई राहत मिलेको सवारी चालकहरु बताउछन् ।
यता सर्वसाधारण भने कोरोना भाइरस संक्रमणका कारण लामो समय बाहिर निस्कन नपाएको र बल्ल केहि गर्ने आशा जागेको बेला फेरि भाडा बढाउदा मर्का पर्ने बताउछन् । यस्तो बेलामा सरकारले सर्वधारणको मर्का बुझ्न आवश्यक रहेको उनीहरुको तर्क छ । सरकारले दशैँको मुखमा नै सर्वसाधारणको ढाड सेक्ने गरी भाडा बृद्धि गर्नु दुखत भएको उनीहरु बताउछन् ।
कोरोना संक्रमणका कारण नेपालमा आमनागरिकको जनजीवन निकै प्रभावित बनेको थियो । अहिले अवस्था विस्तारै सामान्य बन्ने क्रममा छ । तर दशैँको मुखमा सरकारले भाडा बढाउदा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । यसप्रति राज्य जिम्मेवार बन्न जरुरी छ ।
प्रतिक्रिया