काठमाडौँ – काठमाडौँ उपत्यकामा एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ ।
सरकार र व्यवसायीहरूबीचको सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको संघका अध्यक्ष रमेश खड्गीले जानकारी दिए।
सो मूल्य एक वर्षका लागि मान्य हुने उनले बताए । नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ। आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मूल्य १२ सय रुपैयाँ बनाइएको छ ।
यस्तै उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको अध्यक्ष खड्गीले बताए । यस्तै ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ ।
प्रतिक्रिया