समाचार

नेपालीको महान चाड बडादशैं सुरु, पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै


काठमाडौँ – नेपालीहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटको स्थापना गरी जमरा राखिँदै छ ।नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जमरा राखिन्छ ।

जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गर्ने गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।