राजनीति

मन्त्री टुंगो लगाउन सबै दल सक्रिय, पौडले पक्षले पनि बोलायो बैठक


काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेको पार्टी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बुधबार पौडेल निवास बोहोराटारमा दिउँसो २ बजेका लागि बोलाइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने छ। मन्त्रालय बाँडफाँडमा सत्ता गठबन्धनबीच सहमति भएसँगै सत्ता गठबन्धनका चारै दल कसलाई मन्त्री बनाउने भनेर सक्रिय रुपमा लागिपरेका छन् ।

यसैबीच अन्य सत्ता गठबन्धनका दल नेकपा माओवादी र जनता समाजवादी पार्टीको पनि मन्त्री छान्नकै लागि बैठक बस्दै छन् । कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने छ । माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी लिने छन् ।