राजनीति

मन्त्री छान्न माओवादी बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो एक बजे सरकारमा थप मन्त्री पठाउने बारे छलफल गर्न स्थायी कमिटी बैठक बस्दैछ । सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाबारे सहमति भएसँगै माओवादीले बैठक बोलाएको यी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार बैठकमा माओवादीको तर्फबाट कुन नेतालाई कुन मन्त्रालय पठाउने भन्ने बारे छलफल हुने बताएका छन् । यसका साथै, अन्य विभिन्न समसामयिक विषयमा पनि छलफल हुनेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अब बढीमा चार मन्त्री पठाउनेछ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिनेबारे छलफल हुने बताए ।