राजनीति

८४ दिनपछि मन्त्रालय भागबन्डा, कांग्रेसलाई आठ, माओवादीलाई ६, एकीकृत समाजवादी र जसपालाई चार–चार मन्त्रालय


काठमाडौँ – शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारी जुटाएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारीभन्दा एक–एक मन्त्रालय बढी राखेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने छ । माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी लिने छन् ।

एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास लिने भएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालयले लिने छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री तथा जसपाले उपसभामुख लिने भएको छ ।