राजनीति

सभापति लड्न पौडेल पक्षको तछाँडमछाँड उस्तै, देउवालाई तनाव कि हाइसञ्चो ? (भिडियोसहित)


काठमाडौँ – दशैं अघि नै सक्ने गरि हिमाली जिल्लाको अधिवेशन शुरु भएपछि नेपाली काँग्रेसको पौडेल पक्षमा उत्साह छ । हालसम्मको नजिता अनुसार १० जिल्लामध्ये ६ जिल्लामा पौडेल पक्षले नेतृत्व लिएको छ । तर केन्द्रीय नेताहरुमा नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसक्दा अलमल कायमै छ ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि विवादितबाहेकका जिल्लामा वडा अधिवेशन र पालिका अधिवेशन टुङगीएसँगैयतिबेला हिमाली जिल्लाको अधिवेशन चलिरहेको छ । दशै अघि नै हिमाली जिल्लामा अधिवेशन सम्पन्न गरेर बाँकी जिल्लामा दशै तिहारपछि गर्ने कार्यतालिका अनुसार हालसम्म अधिवेशन सम्पन्न भएका १० हिमाली जिल्लामा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ४ जिल्लामा नेतृत्व हत्याएको छ भने ६ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएको छ ।

कतै सर्वसम्मत त कतै निर्वाचनका माध्यमबाट नेतृत्व चुनिएका छन् ।हालसम्मको नजितालाई आधार मान्ने हो भने, पौडल पक्षले पकड जमाएको छ । जसले केन्द्रीय नेतृत्व परिवर्तनमै प्रभाव पार्ने भएपछिपौडेल पक्षमा उत्साह जागेको छ ।

जिल्लामा उत्साहजनक सहभागिता देखिएका बेला केन्द्रमा भने नेताहरु रणभूल्लमा परेका छन् । सभापति देउवाविरुद्ध साझा उम्मेद्वार तय गर्ने प्रस्ताव महिनौदेखि चल्दै आएपनि कसले कसैलाई छाडेर जाने अझै टुङगीएको छैन् ।

गत भदौ १७ मा सभापतिका चार मूख्य दाबेदार एकै मञ्चमा उभिएर साझा उम्मेद्वार बनाउने घोषणा गरेका थिए । तर एक महिना बढी समय बितिसक्दा समेत केन्द्रीय नेतृत्वबीच सहमति नहँुदा तल्लोतहका कार्यकर्ता अन्योलमा छन् ।बरु चार जना नै देउवाविरुद्ध उभिने प्रयासले काँग्रेसमा गुटको संस्थागत विकास भएको विश्लेषण भइरहेका छन् ।
सभापति देउवाविरुद्ध उभिन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला तछाँडमछाँड गरिरहेका छन् ।साथ छोडेर सभापति देउवाविरुद्ध उत्रिएका उपसभापति विमलेन्द्र निधिसमेत सभापतिको उम्मेद्वार हुन् । यसैकारण पौडेल पक्षका चारमध्ये शशांक र प्रकाशमानबीच उनको हिमचिम चलिरहेकै छ । सोमबार पनि निधि निवासमा तीन नेताबीच भेटवार्ता भएको थियो । तर पाँचौपटकको निरन्तर भेटबाट समेत तेल निस्किएन ।

उता महामन्त्रीका उम्मेद्वार गगन थापाले साथ छाडेका कृष्णप्रसाद सिटौलासमेत कसलाई समर्थन गर्दै अघि बढ्ने अलमलमै छन् । तथापी कार्यबाहक सभापति मागेर देउवासंग मिल्न उनलाई दबाव परिरहेको छ ।विपक्षीहरु ठोस रणनीतिका साथ अघि नआँउदा देउवासमेत संशयमा छन् ।

कसले कसको अस्तित्व स्वीकार्ने र अघि बढ्ने भन्ने प्रश्न नै काँग्रेसमा अह्म बनेको छ । जसमध्ये पौडेल समुहभित्रसमेत उम्मेद्वार व्यवस्थापन थप जटिल बन्दै जाने र कित्ता फेरबदलसम्मको सम्भावनामाथि आशंका गरिएको छ ।