समाचार

३३ किलो सुन तस्कर (चुडामणि उप्रेती) गोरेलाई जन्मकैदको सजाय



काठमाडौँ – चर्चित सुन काण्डका मुख्य आरोपी चुडामणि उप्रेती गोरेलाई जन्म कैदको सजाय सुनाइएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।

गोरे भन्ने चुडामणि उप्रेती मोरङ उर्लाबारी –७ का हुन्। उनी काठमाडौं गाौरीघाटमा बस्दै आएका थिए। फरार उप्रेतीलाई पक्राउ गर्न मोरङ प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेर प्रहरीले पक्राउ गरेको थियो । करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा ८ जना दोषी ठहर भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले कर्तव्य ज्यान मुद्दाका ८ जना प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

अदालतको फैसला अनुसार उनीहरुले २० वर्ष जेल बस्नुपर्ने छ ।अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भएको छ । यसको सजाय निर्धारणका लागि पुनः पेश गरिने छ ।

मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ । मुद्दामा दोषी ठहर भएकाहरु गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरु हुन् ।