राजनीति

मन्त्रालय भागवण्डाबारे सत्ता गठबन्धनमा सहमति, कुन दललाई कुन मन्त्रालय ?



काठमाडौँ –सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । शीर्ष नेताहरू सहभागी मन्त्रालय बाँडफाडबारे सहमति जुटेको बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु बैठकमा सहभागी थिए ।

मन्त्रालय भागवण्डामा सहमति भैसकेकोले भोलिसम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेताहरुले दाबी गरेका छन् । यद्दपी सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन भने गठबनधनमा रहेका दलहरुलाई सकस परेको छ ।

कुन दललाई कुन मन्त्रालय ?
सहमति अनुसार कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ। यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री काग्रेसले लिइसकेको छ।यस्तै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने भएको छ ।

नेकपा एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने भएको छ भने जनता समाजवादी पार्टीको भागमा भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको बताइन्छ ।