समाचार

मेरा पिकमा स्याब्रु नृत्य गरेर विश्व रेकर्ड राख्ने


काठमाडौँ – शेर्पा इभेन्ट अर्गनाइजरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित ६ हजार ४ सय ७६ मिटर उचाइमा रहेको मेरा पिकमा शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य गरि विश्व रेकर्ड कायम गरी गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउने भएको छ ।

शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरूको वृत्तचित्र छायांकन गरी विश्व रेकर्ड कायम गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले जानकारी दिएको छ । स्याब्रु नृत्यमा महिला, पुरुष दुवै सहभागी हुन्छन् ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न जिल्लाका १८ जना शेर्पा युवायुवती सहभागी हुनेछन् । टोली आगामी शुक्रबार काठमाडौँबाट सोलुखुम्बु प्रस्थान गर्नेछ । काठमाडौँबाट हिँडेको १५ दिनभित्र रेकर्ड राख्ने र ७ कात्तिकमा काठमाडौँ आउने कार्यक्रम रहेको संयोजक दिकु शेर्पाले शेर्पाले जानकारी दिए ।

शेर्पा समुदायको परम्परागत रीतिरिवाज, भाषा, कला, संस्कृति, पहिचान र विविध संस्कृति, मूल्यमान्यतालाई जीवन्त राख्ने उद्देश्यले क्रियाशील रहेको पत्रकार सम्मेलनमा कार्यक्रमका अध्यक्ष नुरु शेर्पाले बताए । ‘शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेको छ । यस जातिको मूल्यमान्यता, रीतिरिवाज र परम्परागत संस्कृति बौद्धधर्ममा आधारित छन् ।

स्याब्रु शेर्पाहरूको भाषा, भेष, कला संस्कृतिसँग सम्बन्धित मौलिक नाच हो, जसमा आफ्नै मौलिक बाजा टुब्नाको प्रयोग गरिन्छ । यो नाच बिहेबारी, लोसार लगायत अन्य चाडपर्वहरूमा पनि नाचिन्छ । यस नाचमा महिला पुरुष दुवैको सहभागिता रहन्छ । यो एउटा सामूहिक नाच हो जसमा शेर्पाहरूको मौलिक पहिचान झल्किन्छ ।’ हिमालसँगको प्रगाढ नातालाई झल्काउँदै विश्व तामक्रम न्यूनीकरण गरी प्रकृतिलाई सम्मान अनि माया गर्नुपर्छ भन्ने सन्देश पनि विश्वसामु प्रवाह गर्ने उनले बताए ।