राजनीति

एमालेको अवरोधकाबीच राष्ट्रिय सभाबाट चार विधेयक अघि बढाइयो, सरकारले संवाद नचाहेको आरोप (भिडियोसहित)


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बिच राष्ट्रिय सभाले चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक दफावार छलफलका लागि अघि बढाइएको हो ।

नेकपा एमालेको विरोधका बीच राष्ट्रियसभा बैठकले सरकारले पेश गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेकोे खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टबल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा निरन्तर बिरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन । एमालेले कारबाही गरेका १४ जना सांसदहरुको निस्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी सहित वेल घेराउ गर्दै आएका छन् भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर बिरोध जनाउने गरेका छन् । बैठकमा राष्ट्रिय सभा सदस्य पार्वती रावलले सरकार गैर कानूनी रुपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैर संवैधानिक र दलीय स्वार्थ केन्द्रीत भएका कारण एमालेको विरोध जारी रहने बताइन् ।

यस्तै बैठकमा बोल्दै सांसद डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरुको मानव अधिकार हनन् भएको बताए । सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरु प्रयोग हुने गरेको भन्दै उनले नियमापत्ति जनाए । सांसद देवकोटाले अदालतमा विचाराधिन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानूनी व्यवस्था हुँदाहुँदै संविधान र कानूनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरु भइरहेको भन्दै त्यसको भत्सर्ना गरे । यद्दपी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनको नियमापत्ति खारेज गरेका छन् । राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतवार दिउँसो २ बजे बस्ने भएको छ ।