राजनीति

प्रधानन्यायाधीशले मन्त्री मागेको भन्ने समाचार आउनु दुःखद : सर्वोच्च अदालत


काठमाडौँ – मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको संलग्नता रहेको भन्ने समाचार आएका सम्बन्धमा सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको संलग्नता समेतका शीर्षक राखी विभिन्न पत्रपत्रिका एवं अनलाइन माध्यमबाट समेत प्रकाशित भएका समाचारहरूको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ।” यसलाई सर्वोच्चले खेदजन्य विषय भनेको छ। सर्वोच्चले भनेको छ, “संविधानतः प्रधानमन्त्रीको सिफारिशमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्मानीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो।”

प्रधानन्यायाधीशबाट संविधान बमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा प्रतिबद्धता रहेको धारणा व्यक्त हुँदै आएको सन्दर्भमा अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवम् नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय भएको सर्वोच्चले जनाएको छ । यससम्बन्धी समाचार गएको शनिवार सार्वजनिक भएको थियो ।