राजनीति

आमनिर्वाचनको भागदौडमा जुटे दलहरु : सबै कम्युनिष्ट मिल्दा पनि जित्ने गगनको दाबी (भिडियोसहित)


काठमाडौँ – राजनीतिक दलमा अहिले देखिएको मुख्य समस्या पार्टीभित्र मौलाउँदै गएको असन्तुष्टि हो । विभिन्न कारणले सबै पार्टीमा आन्तरिक मतभेद व्याप्त छ । जसको असर आगामी आमनिर्वाचनमा पर्ने देखिन्छ । त्यसैले दलहरु आन्तरिक शुद्धिकरण र चुनावी तयारीमा होमिएका छन् ।

मुलुकमा कुनै राजनीतिक घटना दुर्घटित नभए करिब १५ महिनापछि देश निर्वाचनमा होमिदैछ । ठिक यसैबेला आन्तरिक सुदृढीकरणको भागदौडमा रहेका राजनीतिक दलहरुचुनाव लक्षित बनिसकेका छन् । नेकपा एमाले, नेकपा माआवोदी केन्द्र र नेपाली काँग्रेस जस्ता ठुला शक्तिले महाधिवेशनबाट पार्टी सुद्धिकरण गर्ने र निर्वाचनमा होमिने तयारी गरेका छन् । विपक्षीलाई पछार्दै आफ्नो पकड कायम गर्न नेताहरुको भाषणबाजी समेत शुरु भएका छ ।

आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनसम्म सबै कम्युनिस्ट पार्टीहरु एक हुँदा पनि बहुमतका साथ जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने थापाको भनाई छ । उस्तै भनाई नेकपा एमालेका नेताहरुको पनि छ । प्राविधिक विषयले प्रतिपक्षमा थन्किनुपरेको भन्दै दुख मनाउ गरिरहेको एमाले आफु नै पहिलो शक्ति भएकाले आगामी निर्वाचनमार्फत अन्य दलको हैसियत देखाईदिने दाबी गरिरहेको छ ।

सत्ता स्वार्थको उन्मादमा फसेका सबै दलहरुमा संगठनहरु कमजोर बन्दै गएका छन् । यसैकारण चुनावको मुखमै आएर आन्तरिक शुद्धिकरण गर्दा आगामी निर्वाचनमा जनलहर बटुल्नसकिने दाउ उनीहरुको छ ।

महाधिवेशन जस्ता आन्तरिक विषयमा मतभेद हुँदा त्यसको असर आमनिर्वाचनमा पर्छ ।यसैकारण अधिकांश दलहरु सकभर आन्तरिक विषय सहमतिका आधारमा टुङग्याउने कसरतसमेत गरिरहेका छन् । फलतः देशमा देखिएका अन्य गतिरोधलाई यथाअवस्थामा थन्क्याएर भएपनि दलहरु आन्तरिक सुदृढीकरण र चुनावी तयारीमा होमिएका हुन् ।