राजनीति

मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको कार्यदल गृहकार्यमा


काठमाडौँ – मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको कार्यदल गृहकार्यमा जुटेको छ । सरकार बनेको तीन महिना हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि कार्यदलमा छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको कार्यदलको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल एक सदस्यले जानकारी दिए । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका प्रतिनिधि सदस्य छन् । खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभएको बताइएको छ ।

पछिल्लो पटक सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक समेत बस्न सकेको छैन । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल विरामी भएकाले बैठक प्रभावित भएको नेताहरूले दाबी गरेका छन् । कार्यदलमा सहमति जुटाएर शीर्ष नेताको बैठकले अनुमोदन गरेपछि मन्त्रिपरिषद विस्तार हुने नेताहरूले बताएका छन् ।