राजनीति

सरकार विस्तारमा हदैसम्मको लाचारीपन,ओली हटाउनुको औचित्य के ?


काठमाडौँ – सरकार गठन भएको झण्डै तीन महिना पुग्नलाग्दा समेत मन्त्रिपरिषद् विस्तार नगरेर सत्ता गठबन्धनले लाचारीको हद पार गरेको छ। जसले गर्दा सरकारको चौतर्फी आलोचना मात्र भएको छैन, सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेको छ । यसअघि सत्ता गठबन्धनका लागि राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश नै मन्त्रिपरिषद्का विस्तार नहुनुको बहाना बनेको थियो । तर सोमबार सरकारले त्यो अध्यादेश पनि फिर्ता लिएपछि गठबन्धनको लाचारीपन देखिन थालेको छ ।

पाँच दलीय गठबन्धनको मोर्चा कसेर सत्तामा हाम फालेका दलहरुले सरकार गठन गरेको झण्डै तीन महिनापुग्न थाल्यो ।केहीदिनपछि सरकारले एकसय दिन पनि पुरा गर्दैछ । तर मन्त्रिपरिषद् विस्तार जस्तो सामान्य तर अनिवार्य विषयमै अल्झिएपछि गठबन्धन असक्षम मात्रै देखिएको छैन, सत्ताधारी दलकै नेताहरुले असन्तुष्टि जनाउन थालेका छन् ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ मा प्रधानमन्त्री बनेका थिए । त्यसयता काँग्रेसबाट प्रधानमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री सरकार पाएको छ भने, माओवादीको कोटाबाट दुईमन्त्री बनेका छन् । तर बाँकी रहेका १६ मन्त्रालयमा काँग्रेस र माओवादीसहित नेकपा एकीकृत समाजवादी र जसपाका बीच भागबण्डा मिलाउनुपर्नेछ । जुन हालसम्म टुङगीएको छैन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनभावना विपरितका काम गरेको भन्दै गठबन्धनका दलहरुले त्यसको अभाव मेटाउन सरकार बनाएका हुन् । तर विकल्पमा आएकाहरु झनै लाचारीपनको पराकाष्ठा बनेपछि बहानाभन्दा अर्काे उपलब्धी यो सरकारले दिएको छैन ।किनकि लोकतान्त्रिक प्रक्रियाबाट सरकार बन्न थालेयता १६ मन्त्रालय यतिलामो समयसम्म मन्त्रीविहिन भएको यो पहिलोपटक हो ।

पहिले एमालेबाट विभाजित माधवकुमार नेपालको पार्टी र जसपाको विवादलाई बहाना बनाएको गठबन्धनले त्यसयता अध्यादेशलाई बहाना बनाएको थियो । तर अध्यादेश पनि फिर्ता भएपछि हाल माधवकुमार नेपाल विरामी भएर अस्पताल भर्ना भएको विषय गठबन्धनका लागि बहाना बनेको छ ।जबकि नेपालको पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु टुङगिएका छन् । तर प्रधानमन्त्री देउवा आफ्नै पार्टीभित्रको किचलो व्यवस्थापनलेसंकटमा परेका बेला माओवादी केन्द्रले आकंक्षी धेरै हुँदा मन्त्रीको नाम दिएको छैन । उता आफै नेतृत्व गरेर सरकारमा जान खोजिरहेका जसपा अध्यक्ष उपेन्द्र यादवर्ले समेत पार्टीभित्र सहमति नभएपछिमन्त्रिपरिषद् विस्तारमा चासो देखाएका छैन ।फलतः लाचारीको अर्काे नाम नै गठबन्धन बनेको छ ।