राजनीति

विद्युत प्राधिकरण भन्छ– बिजुली खेर जान थाल्यो, उपभोक्ता भन्छन् नियमित बिजुली आएन


काठमाडौँ – नेपाल विद्युत प्राधिकरण भनिरहेको छ – वर्षायाममा बिजुली खेर जान थाल्यो । बिजुलीका उपभोक्ताहरु भनिरहेका छन् – हामीले विद्युत उपभोग गर्न पाएनौं । विद्युत आपूर्ति विश्वासिलो भएन । झ्याप्प झ्याप्प बिजुली जाँदा भात काँचो हुने गरेको छ । जनताको माग र प्रधिकरणको काममा किन तालमेल मिलिरहेको छैन त ? एक रिपोर्ट ।
नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु हालै बिजुलीको बजार खोज्न भारत पुगेर फर्के । यता स्वदेशी उपभोक्ताले बिजुली नियमित नपाएको गुनासो गरिरहेका छन् । खाना पकाउन काठमाडौंमै पनि सात लाख भन्दा बढी घरमा एलपी ग्यास नै पहिलो रोजाईको ऊर्जा बनिरहेको छ । अन्यत्रको पनि स्थिति यस्तै छ । प्राधिकरणले बिजुली खेर गयो भनिरहँदा उपभोक्ता चाहिँ किन इन्डक्सन वा इन्फ्रारेड चुल्होमा आकर्षित हुन सकिरहेका छैनन् त ? के एलपी ग्यासभन्दा प्राधिकरणले बेच्ने विद्युत महँगो भएर हो ?

यदि एक हजार वाट प्रयोग हुने गरी एक घण्टा इन्फ्रारेड चुलो चलाउने हो भने १ युनिट विद्यूत खपत हुन्छ । प्रतियुनिटक १२ को दरले बिहान र बेलुका एक एक घण्टा यो चुल्हो चलाउँदा दिनमा २४ रुपैयाँ र महिनामा ७२० रुपैयाँ खर्च हुन्छ । काठमाडौंमा डेरावालहरुसँग प्रतियुनिट १५ रुपैयाँ लिने चलन छ, यो हिसाबले महिनाको ९ सय रुपैयाँ खर्च हुन्छ । यता ग्यासको मूल्य प्रतिसिलिन्डर १४ सय ५० रुपैयाँ छ । एक सिलिन्डर ग्यासले डेढ महिना जति पुग्छ । अर्थात बिद्युतबाट खाना पकाउँदा डेढ महिनामा बढीमा १३ सय ५० खर्च हुन्छ भने ग्याँसबाट १४ सय ५० ।
नेपाल विद्युत प्राधिकरणले नयाँ दररेट निर्धारण गर्न विद्युत नियमन आयोगमा सिफारिस गरिसकेको छ । अहिलको महशुल दरलाई महँगो मानिएको छ । महँगै दरमा पनि ग्यास भन्दा विद्यूत सस्तो देखिएको छ । विज्ञहरु भन्छन् – विद्युतबाट खाना पकाउँदा सस्तो पर्छ । तर यो नियमित छैन । भरपर्न सकिएको छैन ।

नेपाल विद्युत प्राधिकरणले लागू गर्ने भनेको नयाँ विद्युत महशुल दरमा गार्हस्थ उपभोक्तालाई प्रतियुनिट ९ रुपैयाँ ५० पैशा प्रस्ताव गरिएको छ । त्यो वा योभन्दा पनि कम महशुल दर कायम हुन सक्यो भने घरघरमा विद्युत उपभोग बढ्न सक्छ । यसले वार्षिक ३७ अर्बभन्दा बढीको एलपी ग्यास आयातलाई कम गर्ने आशा गर्न सकिन्छ ।