राजनीति

प्रचण्डलाई बाबुरामको जवाफ,होला त पूर्वमाओवादीको पुनर्मिलन ?


काठमाडौँ – पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु पुनर्गठित हुनुपर्ने बताउँदै आएका छन् । के प्रचण्डकै चाहना अनुसार पूर्वमाओवादी एक रहने सम्भावना छ त ? अनुमान र प्रक्षेपणमा नअटाउने पात्र हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । कतिबेला रोइदिन सक्छन्, कतिबेला हाँसिदिन सक्छन् पत्तै हुँदैन । आजभोली प्रचण्डको रोदन पूर्वमाओवादी छिन्नभिन्न भएकोमा केन्द्रीत छ । र फेरि एक हुने संकल्प पनि ।

जसले अन्धकार हुँदा पनि मोर्चाको नेतृत्व सम्हालेर बाटो देखाउन सक्छ त्यहीँ नेता हो । कुनैबेला त्यो गुण माओवादी केन्द्रका प्रचण्डमा थियो । तर अहिले प्रचण्ड आफै अन्धकारमा छन् । १० बर्षे जनयुद्धको मोर्चा सम्हाल्दा मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, सीपी गजुरेल र रामबहादुर थापा जस्ता अन्य धेरै सहयोद्धा उनकै वरिपरि घुम्थ्ये । तर जनयुद्धको विश्राम र सत्ता राजनीतिको पदार्पणसंगै प्रचण्डको त्यो शक्ति क्रमश रोदन र क्रन्दनमा बदलिएको छ ।

आजभोली प्रचण्ड बेलाबेला बर्बराउँछन्, कराउँछन् र आत्महत्यासम्मका अभिव्यक्ति दिन्छन् । जनयुद्धको जगबाट उठेका शक्तिहरु वितेको १५ बर्षमै छिन्नभिन्न भएपछि प्रचण्डमात्रै एक्लिएनन्, उनका सहयोद्धाहरुसमेत अलग अलग उद्देश्य र विचारको राजनीतिमा छन् । तर सबै मुलधारको राजनीतिमा भएपनि सहायक शक्तिमा खुम्चिन बाध्य छन् । यसैकारण प्रचण्ड पछिल्लो केही महिनायता निरन्तर पूर्व माओवादीहरु एक हुनुपर्ने कुरा उठाएर कार्यकर्ता हौसाइरहेका छन् ।

प्रतिक्रियावादीले आफूहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसविरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने प्रचण्डको निष्कर्ष छ । यसका लागि पूर्वमाओवादीहरुको साथ प्रचण्डका लागि अपरिहार्य छ । तर पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मकमात्रै भएको टिप्पणी पूर्वसहयोद्धाहरुको छ ।

उत्पीडित वर्ग र समुदायका नाममा लडिएको युद्ध र सत्तारोहणपछिको राजनीतिक धुब्र क्रमिक रुपले परिवारवाद र आफु केन्द्रीत व्यक्तिको मोहमा फसेको छ । फलतः पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको सहयोद्धाहरु बताउँछन् । तर प्रचण्डबाट रुपान्तरणको सम्भावना भने उनीहरु देख्दैनन् ।

संसदीय राजनीतिमा घुलीत भएपछि आफु सत्ताको शिखरमा उभिएर पार्टीलाई स्वार्थ समूहहरूको जमघट मात्र बनाएका आरोप प्रचण्डमाथि छ । तीन दशक पार्टीको नेतृत्वमा रहेका उनले भरपर्दाे र शक्तिशाली दोस्रो पंक्ति निर्माण गर्ने अभ्यास पनि गरेका छैन । जनलहर पनि कमजोर बन्दै गएपछि आफू एक्लिएको र घेराबन्दीमा परेको भन्दै छटपटीसमेत बढेको छ ।

मुलतः पराजित मानसिकताले प्रचण्डलाई पेल्दैपेल्दै ल्याएपछि कि आत्मसमर्पण गर्ने कि पूर्वसहयोद्धाहरुलाई मनाएर भएपनि पुनः शक्तिमा रहने विकल्पसम्म ल्याईपु¥याएको छ । तर उनको आशक्तिलाई बोकेर पूर्वमाओवादी सहयोद्धाहरु यथाअवस्थामै प्रचण्डको मैदानमा छिर्ने सम्भावना देखिदैन ।