राजनीति

कांग्रेस काठमाडौँको नगर अधिवेशन आज हुँदै


काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँमा आज नगर अधिवेशन हुँदैछ । ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो ।

दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ । चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो ।

काठमाडौँका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।

सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ। किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ।

काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन् । साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन् । कांग्रेसका यी दुई पक्षबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ।

दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौँको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन् ।