समाचार

सल्यानमा जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु


काठमाडौँ – शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका सल्यानका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनीहरूको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

आज बिहान बागचौरदेखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो। तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट करिब १० मिटर तल खसेको छ।