राजनीति

मन्त्रीको नामदिएपछि माधवले हात उठाए, को–को बन्दैछन् मन्त्री ? (भिडियोसहित)


काठमाडौँ – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएसंगै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने सबैको विश्वास थियो । तर असफलताको कारण एकअर्कालाई देखाएर दलहरु ढीलासुस्तीमा अल्झिएका छन् ।

आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि विरामी परेका नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना छन् । उनको पार्टीले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम सार्वजनिक नगरेपनि विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम चर्चामा छ ।

त्यसबाहेक भवानी खापुङ र किशान श्रेष्ठको नामसमेत मन्त्रीको लाइनमा छ । अब आफ्नोतर्फबाट गतिरोध अन्त्य भएको भन्दै नेकपा एकिकृत समाजवादीका नेताहरु मन्त्रिपरिषद् विस्तार नहुनुको कारक प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखाइरहेका छन् ।

सरकारले सोमबार प्रतिनिधिसभामा दर्ता भएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि सरकार विस्तार हुने अपेक्षा गरिएको थियो । तर गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्रीको नाम दिनै सकस परेपछि प्रधानमन्त्री देउवाथप दबावमा परेका छन् । गठबन्धनमात्रै नभएर आफ्नै पार्टीमा भागबण्डा मिलाउन देउवालाई संकट छ ।

बाँकी रहेका शक्तिशाली मन्त्रालयमै सबैको नजरकेन्द्रीत बनेपछि मन्त्रीमण्डल बाँडफाँडमा समस्या परेको हो ।भागबण्डा मिलाउने जिम्मा पाएका शिर्ष नेताहरुबीच पनि छलफल हुन सकिरहेको छैन । कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति नभएपनि आजभोली नै मन्त्रिपरिषद् विस्तार टुङगोमा पुग्ने नेताहरुले दाबी गरिरहेका छन् ।

सरकार गठन भएको साढे दुईमहिनाको अवधिमा दर्जन पटक भाका तोकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहिबार समेत अर्काे भाका तोक्दै आजभोली नै सरकार विस्तारले पूर्णता पाउने दाबी गरेका छन् ।

भागबण्डा अनुसार प्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले ७ मन्त्रालय पाउनेछ । माओवादी केन्द्र, नेकपा (एस) र जसपाले पाँच मन्त्रालयसहित एक/एक राज्यमन्त्री पाउने छन् । तर सरकार गठन भएको साढे दुईमहिनासम्म असफल भएका दलहरु अझै एकअर्कालाई कारण देखाएर ढीलासुस्तीमै अल्झीरहेका छन् ।