काठमाडौँ – तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तालिबानले कब्जा जमाउनु अघिसम्म भारतले अफगानिस्तानमा उडान भर्दै आएको थियो । भारतले गएको अगष्ट १५ देखि सबै उडान बन्द गरेको हो ।
तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि भारत लगायत थुप्रै देशले उडान भर्न बन्द गरेका थिए । पाकिस्तानले भने इस्लामाबाद–काबुल उडानलाई केही दिनदेखि फेरि सञ्चालनमा ल्याएको छ । यसैविच, तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार छिट्टै ‘कोल्याप्स’ हुनुको कारक रहेको अमेरिकाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुको पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन् । सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो ।
प्रतिक्रिया