राजनीति

आज सर्वदलीय बैठक बस्दै


काठमाडौँ – संसद्मा जारी अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको बालुवाटारले जनाएको छ । एमालेले संसद्को चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।