काठमाडौँ – बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने सरकारले पुनः दावी गरेको छ । विश्व मुटु दिवसको अबसरमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हाल दैनिक ३ लाख जनतालाई खोप लगाउने काम गरिरहेको दावी गरे भने दशैं अघि ३३ प्रतिशत नागरिकले खोप पाउने आश्वासन समेत दिए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने घोषणा गरेका छन । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हाल दैनिक ३ लाख जनतालाई खोप लगाउने काम गरिरहेको दावी गरे । सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको सेमेत उनको भनाई छ । वर्तमान सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको र बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको मन्त्री श्रेष्ठको दावी छ ।
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न लागिपरेको समेत बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । डा. कोईरालाले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साँढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिए । उनले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत जानकारी गराए ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्थायू रोग विशेषज्ञ डा. बसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया