राजनीति

प्रधानमन्त्री देउवा प्रतिपक्षी दलका नेतासँग नजिक बन्दै, सत्ता सञ्चालनमा कठिनाइ (भिडियोसहित)


काठमाडौँ – कुनै राजनीतिक उथुलपुथल नभएमुलुक करिब १५ महिनापछि निर्वाचनमा जाँदैछ । तर पाँच बर्ष नै प्रतिनिधिसभा चल्न नसक्ने भन्दै ताजा जनादेशमा जान प्रमुख प्रतिपक्षले दबाब सिर्जना गरिरहेको छ । जसमा प्रधानमन्त्रीको समेत समर्थन देखिन थालेको छ ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बारम्बार आफ्नो दूत बनाएर प्रमुख प्रतिपक्षी दलका नेता भेट्न बालकोट पठाइरहेका छन् । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग निकट हुन देउवाले थालिरहेको प्रयास मुलतः अर्लि निर्वाचनको साथर्कता र सत्ता गठबन्धनका सहयोगी दल माओवादी केन्द्र तथाएमालेबाट विभाजित नेकपा एकिकृत समाजवादीलाई दबाब दिने खालको छ ।

मन्त्रिपरिषद् विस्तार जस्ता सामान्य तर अनिवार्य विषयमै सत्ता गठबन्धनमहिनौं अल्झिन थालेपछि चुनावमै जानुलाई देउवाले सम्भवत हितकर ठानेका छन् । देउवाले ओलीसंगको सामिप्यतालाई निकट बनाएर निर्वाचनमा जाने मनोविज्ञान तयार पारेको ज्ञाताहरुको बुझाई छ । सरकार आफैं गतिरोधमा फसेकाले ढिलो चुनाव गर्दा आफैलाई प्रतिकूल हुने मूल्याकंन गरेका प्रधानमन्त्री देउवा यसैकारण मंसिरमा पार्टीको महाधिवेशन जित्ने र छिटोमा वैशाखभित्र निर्वाचन गराउने पक्षमा देखिएका हुन् ।

सत्ता फेरबदल भएपछि देउवा र ओलीबीच अलग्गै भेटघाट भएको छैन । तर देउवाले आफ्ना विश्वासपात्र पठाएरप्रतिनिधिसभाको गतिरोध, साढे दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुनुको कारण र ‘अर्ली इलेक्सन’सम्मको छलफल चलाएका छन् । यसअघि भदौ १५ र ३१ मा कानुनमन्त्रीलाई बालकोट पठाएका देउवाले मंगलबार पनि ओलीसंग भेटवार्ता गराएका थिए । मुलतः ताजा जनादेशमै जानुपर्ने विषयमा प्रधानमन्त्री देउवा र ओलीबीच पहिलेदेखि नै मत मिल्दै आएको देखिन्छ । अन्य दल र नेताप्रति सधै गरम हुने ओली देउवालाई लिएर नरम छन् ।

आफु सत्ताबाट बाहिरीएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विभाजित नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालको सत्तोसरापमा विताउने ओली देउवाका विषयमा धेरै आलोचना गर्दैनन् । यसमा निर्वाचन फ्याक्टरले काम गरेको चर्चासमेत हुने गरेको छ ।यसैकारण ओली यो प्रतिनिधिसभाले पाँच वर्ष पूरा गर्न सक्दैन भन्ने विश्वासमा दृढ छन् ।

भदौ २३ यता निरन्तर संसद अवरुद्ध पार्दै आएको एमालेले यही अवस्थामा चल्न दिने सम्भावना छैन । संसद्लाई औचित्यहिन बनाएर ताजा जनादेशमा मुलुकलाई धकेल्ने उसको उद्देश्य देखिन्छ । ओलीसँग संवादमा रहेका देउवाले एकातिर प्रतिपक्षलाई सन्तुलनमा राख्न खोजिरहेका छन्, अर्काेतिर गठबन्धनभित्रका माओवादी र नेकपा एसलाई समेत दबावमा राख्दै निर्वाचनका लागि तयार बनाउँदैछन् ।

यही गतिमा सरकार लम्बिँदा पार्टी पनि अलोकप्रिय हुने र कम्युनिष्ट पार्टीहरुबीच तिक्तता चुलिएर विभाजन भइरहेको मौकामाचुनावमा गए जित पनि सहज हुने देउवाको मूल्यांकनले देश ताजा जनादेशमै जाने विश्लेषणलाई नकार्न मिल्ने अवस्था छैन ।