विदेश

अफगानिस्तान मामिला समीक्षामा जुट्यो अमेरिका


काठमाडौँ – अफगानिस्तान मामिलामा असफल भएपछि अमेरिका समीक्षामा जुटेको छ । अमेरिकाका दुई शीर्ष सैनिक जनरलले अफगानिस्तानबाट पूर्णरुपमा सैनिक फिर्ता गर्न नहुने सुझाव दिएको बताएका छन् ।

अफगानिस्तानबाट गत अगस्ट अन्त्यमा भएको अमेरिकी सैनिकको पूर्ण फिर्ती र त्यसक्रममा निम्तिएको गम्भीर अवस्थाबारे संसदीय सुनुवाईको क्रममा सैनिक जनरलले यस्तो बताएका हुन् । जनरल मार्क मिली र फ्यांक म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नु पर्ने सुझाव दिएको बताएका हुन् । संसदीय समितिमा दुई सैनिक जनरलले दिएको बयान र राष्ट्रपति बाइडेनको भनाईबिच तालमेल नदेखिएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति बाइडेनले अगस्ट ३१ मा आफ्ना सैनिक पूर्णरुपमा फिर्ता गर्नुपूर्व २५ सय सैनिक त्यहिँ राख्ने सुझावबारे आफूलाई याद नभएको बताएका छन् । अमेरिकी सैनिक फिर्ताको क्रम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पडक बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । अहिले अफगानिस्तानमा तालिबानको सरकार छ ।