समाचार

कसरी लाग्छ रेबिज रोग,यसबाट बच्न के गर्नुपर्छ ?(भिडियोसहित)


काठमाडौँ –आज विश्व रेबिज दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । रेविज ः तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाएको हो । तर, प्रत्येक वर्ष रेबिज विरुद्धको दिवस मनाइँदै आए पनि मुलुकमा रेबिजको जोखिम भने घट्न सकेको छैन ।

प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन रेबिज दिवस मनाइन्छ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गरेको छ । नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङक अनुसार गत वर्ष ५० प्रतिशत भन्दा बढि व्यक्तिहरु टेकु अस्पतालमा भर्ना भएका थिए । कुकुरको टोकाइबाट कति मानिसको मृत्यु भएको छ भन्ने तथ्याङक भने सरकारले अहिले सम्म पनि यकिन गर्न सकेको छैन ।

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको योजना रहेपनि पछिल्ला वर्षहरूमा रेबिज संक्रमणका कारण हुने मृृत्यु बढिरहेका बेला सो योजना पूरा गर्न चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको भन्दै यसको लागि पहल गरिरहेको बताए ।

रेबिज लागेमा ज्वारो आउने,टोकेको ठाउँमा अत्यधिक दुख्ने झमझमाउने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउनलगायतका लक्षण देखिन्छ । त्यसैले कुकुर जस्ता रेबिज भाइरस सार्ने जनावरले टोकेर छालामा एक वा एकभन्दा बढी गहिरो घाउ भएमा वा रगत बगेमा तुरुन्त घाउ सफा गर्ने र चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउनुपर्दछ । घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिनेछ । जनावरले टोकिसकेपछि १०–१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुन्छ ।