राजनीति

एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो : लेखराज भट्ट


काठमाडौँ – नेकपा एमालेका नेता लेखराज भट्टले पार्टी निर्णयअनुसार सुदूरपश्चिम इन्चार्ज आफैं भएको बताउनुभएको छ । उपाध्यक्ष भीम रावल नेतृत्वमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । थापाथली हाइटस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकले १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको उहाँले बताउनुभयो ।

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशीलहरुको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्न छलफल गरिएको कार्य दलका सदस्यसमेत रहेका भट्टले जानकारी गराउनुभयो ।

कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ । संयोजक रावलले उक्त विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभएको छ ।