राजनीति

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, भोलि पेसी


काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । गत ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो । कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटमाथि बुधबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ । रिटमा शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाविपरीत असोज ६ मा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्रमन्त्री नियुक्त डा. नारायण खड्काले संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधानबमोजिम धारा ८० भनिए पनि उल्लिखित धाराअनुसार संघीय कानुन बमोजिम हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथ सम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु।’

संसद्को अधिवेशन नभएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ६ जेठमा ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी गरे पनि संसदबाट पारित नभई स्वतः निष्क्रिय भएकाले शपथ ग्रहणको कानुनी स्रोत नभएको जिकिर गरिएको छ । रिटमा कानुनविनाको शपथ कानुनी राज्यको प्रतिकूल हुने उल्लेख गरिएको छ ।